Advertisement
विज्ञापन

पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !



गुल्मी । पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ ।

न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो ।


Advertisement

मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी भैलो, पुरुष छेलो,कुर्ची दौड, भाले छोपाईँ, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूणर् भलिबल लगायत राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो । यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष एवम् पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । न्वागी पर्व बागलुङको बडीगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूणर् पर्वको रुपमा स्थापित भएको छ ।

मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पीङ्ग लगायत गरि साना र ठूला व्यापारको बिभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् । विशेष गरी मेलामा बढी मात्रमा फलफुल अन्तर्गत सुन्तला, होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ ।

परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् । कर्णाली राज्य टुक्रिएर १५ औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि त्यस क्षेत्रमा न्वागी खाने प्रचलन सुरु भएको कथन छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad