गुल्मी- गुल्मीको मालिका गाउँपालिका–८ स्थित थानपती आधारभूत विद्यालयले पत्रकार सम्मेलन गर्दै विद्यालयको आर्थिक, शैक्षिक अवस्था र भौतिक संरचनाको जानकारी गराएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय सञ्चालनमा देखिएका समस्यालाई समाधान गर्न तीन महिनादेखि सहयोग संकलन अभियान सञ्चालन गरिएको प्रधानाध्यापक गोबिन्द बहादुर बुढामगरले जानकारी दिए।
उक्त अभियानमार्फत पूर्व विद्यार्थी, अभिभावक, स्थानीय तथा विभिन्न सहयोगदाताको पहलमा हालसम्म १० लाख ३४ हजार रुपैयाँ संकलन भइसकेको छ। प्रधानाध्यापक बुढामगरले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
२०१५ सालमा स्थापना भएको यो विद्यालयमा करिब १५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षा १ देखि ५ सम्म ५ जना तथा कक्षा ६ देखि ८ सम्म २ जना स्थायी शिक्षक रहेका छन्। बाँकी शिक्षक करार, निजी स्रोत तथा अनुदान कोटाबाट व्यवस्थापन गरिएको छ। हाल विद्यालयमा १२ जना शिक्षक कार्यरत छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर खड्काका अनुसार अघिल्लो वर्ष विद्यालयमा शौचालय र पिउने पानीको समस्या थियो। स्थानीय सरकार तथा विभिन्न निकायको सहयोगमा ती समस्याहरू समाधान गरिएको छ। उनले स्थानीय तहले विद्यालय, विद्यार्थी र अभिभावकका समस्या पहिचान गरी समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए।
थानपती विद्यालय हाल मालिका गाउँपालिकाभित्र उत्कृष्ट अंक ल्याउने विद्यालय बनेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८० लाई शैक्षिक सुधार वर्ष घोषणा गरेपछि गाउँपालिका भित्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा वृद्धि भएको जनाएको छ।