गुल्मी – गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका–६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर सारुले जानकारी दिए । प्रहरी उपरीक्षक सारुका अनुसार खड्का रोल्पा लुङग्री गाउँपालिका–२ का बासिन्दा हुन् । उनी विगत केहि समयदेखि ढोरपाटन सडकखण्डमा मजदुरी गर्दै आएका थिए ।
मृतक खड्का स्थानीय पुस्कर थापाको घरमा भाडामा बस्दै आएका थिए । नयाँ वर्ष अर्थात् वैशाख १ गते साँझ सुतेका खड्का मंगलबार विहान ६ बजे उठेपछि पुनः सुतेका थिए । उनीसंगै ढोरपाटन सडकखण्डमा १३ जना मजदुरहरू साथीले काम गर्थे । बिहानको काम सकेर खाना खान फर्किंदा शिवरामलाई उठाउन खोज्दा उनी सुतिरहेको अवस्थामा मृत फेला परेपछि तत्कालै इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खबर गरिएको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जय प्रकाश मिश्रको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुको नेतृत्वमा ६ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक खड्कालाई पोष्टमार्टमको लागि जिल्लाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याईएको छ । हाल मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।