गुल्मी – गुल्मीको सदरमुकाम तम्घास नुनथलामा आगामी वैशाख ५ गतेदेखि सुरु हुन लागेको दास्रो गुल्मी महोत्सवको तीव्र पारिएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “दोस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला २०८१” हुदैँं छ । महोत्सवको समय नजिकिए संगैै महोत्सव लक्षित गतिबिधि वढ्न थालेका छन् । आयोजकले महोत्सवको तयारीलाई तीव्रपारिरहेको छ । अहिले महोत्सव स्थलमा स्टल निर्माण, बालउद्यान, घेराबार पर्खाल निर्माण लगायतका काम चलिरहेका छन् । त्यस्तै मञ्च निर्माण गेट निर्माण तथा मेलाको प्रचारप्रसारको कार्यलाई तीव्र पारिएको गुल्मी चेम्बर अफ कमर्सका महासचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिए ।
महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन कमर्सले उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरी परिचालन समेत गरिसकेको छ । महोत्सवको जिल्लाका १२ वटै पालिका तथा अन्य ठाउँमा महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तिव्र पारिएको संस्थाका महासचिव पन्थीले बताए । उनले महोत्सवको माध्यमबाट जिल्लाका कला संस्कृति र मौलिकता संरक्षण गरिनुका साथै त्यसको थप प्रचारप्रसार गरिने बताए । महोत्सवमा स्टल राख्ने स्थानीय व्यापारी र उद्यमीलाई सहुलियत प्रदान गरिने महासचिब पन्थीले जानकारी दिए । महोत्सवमा नेपाली कला संस्कृति र झाँकीसहित यहाँका स्थानीय खानालाई समेत जोड दिइने बताइएको छ ।

यस महोत्सवबाट ३० करोडको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ भने डेढ लाख दर्शकले मेलाको अवलोकन गर्ने बताइएको छ । आयोजकले महोत्सवमा प्रवेश शुल्क समेत निर्धारण गरेको छ । जसमा प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश र विद्यार्थीको हकमा ५० प्रतिशत छुट दिईने उपाध्यक्ष वीरेन्द्र भुसालले बताए ।

जिल्लाको व्यापार व्यवसाय र आर्थिक चलायमान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव संचालन गर्न लागेको गुल्मी चम्बर अफ कमर्सका अध्यक्ष दुर्गा पाण्डेले जानकारी दिए । महोत्सवका लागि स्थानीयको १० रोपनी जग्गा भाडामा लिइएको छ । जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय कला संस्कृतिको संरक्षण र खेलकुद क्षेत्रको विकास तथा गुल्मीमा आर्थिक गतिविधि चलायमान बनाउन यस महोत्सवले ठूलो टेवा पुग्ने अध्यक्ष पाण्डेको भनाई छ । दोस्रो गुल्मी महोत्सव आगामी वैशाख ५ गतेदेखि १७ गतेसम्म चल्ने छ ।

दास्रो गुल्मी महोत्सवमा दुई सय ८० वटा स्टल रहने छन् । जसमध्ये केही स्टल यहाँ स्थानीय स्तरमा उत्पादित कृषि तथा घरेलु सामानहरूलाई निःशुल्क व्यावस्था गरिएको आयोजकले जनाएको छ । गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई यो महोत्सवले प्राथमिकता राखेको आयोजकको दाबी छ ।